Sunday, May 26, 2019
Home > special_three > प्रधानमन्त्रीलाई युवाको खुल्ला पत्र

प्रधानमन्त्रीलाई युवाको खुल्ला पत्र

सम्माननीय प्रधानमन्त्री ज्यू, 

आराम छु, आराम चाहन्छु र तपाईको कार्यकुशलताको कामना पनि गर्दछु । आज म हजुरका लागि सानो पत्र कोर्न विवश भएको छु । पत्र पढि पत्राचार गरी दिन हुन सादर अनुरोध गर्दछु । निर्वाचनको पूर्व सन्ध्यामा तपाईले मलाई मतदाताका रुपमा पत्र पठाउनु भएको थियो । आज म तपाईलाई पत्र पठाउदैछु ।

मलाई यो देशको नागरिक हुनुमा गर्व महसुस हुन्छ । यो देश पर्यटकीय दृष्टीकोणले अति सुन्दर, सुसज्जित, धार्मिक आस्थाको धरोहर, प्राकृतिक सौन्दर्यता, हिमाल, पहाड, तराईको भौगोलिक बनावट, विभिन्न भाषा, सम्प्रदायका मानिसहरुको देश, विर गोर्खालीको देश, बुद्धकोे देश, मठ मन्दिरको देश, सागरमाथाले चिनिएको देश, जलस्रोतको भण्डारण र प्राकृतिक खानीको देश । आवरणमा सुन्दर देश जति ब्याख्या गरे पनि कमै हुन्छ । त्यसमा पनि कसैको अधिनमा नरहेको देश । यसैमा मलाई गर्व छ ।

मेरो देशका प्रधानमन्त्रीले घरघरमा खाना ल्याइपु¥याउँछन् । अब विदेशी भूमिमा सस्तो मुल्यमा परिश्रम बेचेर स्वभिमानी बेच्नु पर्दैन । दुईतिहाईको सरकार बनेपछि महिनैपिच्छे सरकार गिराउने र बनाउने खेलको अन्त हुन्छ  भनेर ढुक्क थिएँ ।

तर, सोचेजस्तो नहुँदोरहेछ   । सुर्य बाहक  झण्डा र आसी हतौडा मतदान चिन्हको प्रचारमा हातमा डिजे समातेर ‘सही पनि एमाले मै पनि एमाले” भनेर मेरो गाउँको ५९ बर्षीय हर्क बहादुर निकै फुर्तिका साथ जुटेको थियो ।  सम्माननीय प्रधानमन्त्री ज्यू उता शहरतिर तपाईको पनि उखान टुक्का मिश्रीत भाषणले रौनक छाएको थियो । प्रचार र भाषणबाजीमा कुनै अपुगता रहेको थिएन् । भोजभतेरमा कमि थिएन । जनता जुरमुराएका थिए । यसैको फलस्वरुप दुई तिहाइ सहितको सरकार बन्यो । त्यसमा पनि गर्व लागेकै थियो ।

तर, ति गर्व गरेका दिन वितेको धेरै भएको छैन । अहिले एकाएक तपाईको सरकारको कार्यसम्पादनशैलीले गर्व गर्ने दिन सकिएर गए । आज पनि हरेक दिन खाडीमुलुकतर्फ गएर रोजीरोटी गर्नेहरुको भिड उस्तै छ ।   पैसा कमाएर घरधन्दा चलाउने योजनाकार नेपाली युवाहरुको   सपना   बाकसमा लास बनेर फर्किएको सत्य घट्नाहरु प्रधानमन्त्रीज्यूका सामु छदैछन् । सेवा सहजता र विकास कुरेर बसेको मेरो गाउँको अवस्था उस्तै छ ।   काम खोज्ने कामले लखतरान परेका युवाहरूको दैनिकि पनि उस्तै छ । फेरियो त शासकहरूको मुहार, शासन भने उस्तै छ । अरूबेला भन्दा यो बेलाको सरकारमा केही भिन्नता भने देखिएको छ । केही गर्न नसके पनि तपाई प्रधानमन्त्री ज्यू आफ्नो भाषणमार्फत मतदाताहरूलाई चुड्कीला सहितको सेवा प्रदान गरिरहनु भएको छ । यसमा हाम्रो गाउँका गरीव जनता सन्तुष्ट हुन सक्दैनन् ।

गल्ती भए माफ दिनुहोला प्रधानमन्त्रीज्यू,  गरीव जनता भोको पेटलाई फेटोले कसेर सधैँ तपाईंको चुड्किला सुनिरहन सक्दैन् । दुर्गम बस्तीमा बस्ने दिनेश लुहारको टिनले छाएको सानो झुप्रो थियो । त्यो पनि यसपालिको हावाहुरीको बेगले उडाएर लग्यो । उसका लागि खुल्ला आकाशको बास भएको छ । साना नानी बाबुहरुलाई चिसोले निमोनिया भैसकेको छ ।  प्रधानमन्त्री ज्यू  तपाईं पानी जहाजको कुरा गर्नुहुन्छ, अझै पनि गाउँमा  घण्टाँै लगाएर पानी लिन पँधेरो जानुहुन्छ । अब भन्नुस् म पानी जहाजको सपना देखेर पानी खान छोडिदिऊँ ?

आजकाल विद्यालय पढ्ने बहिनीहरु  बाहिर निस्कन डराउँछन् । उनीहरू झिसमिसेमा पँधेरोसम्म पनि जान मान्दैनन् । स्कुल कलेज पुगाउन जानुपर्छ । आजकाल उनीहरू बाघ भालुहरूसँग भन्दा मान्छेहरूसँग ज्यादा डराउँछन् । उनीहरूलाई सबैभन्दा ठूलो डर त यो देशको सरकारसँग लाग्छ । हाम्री गाउँकी चेलीबहिनीहरुको  अविश्वास अपराधीसँगको मात्र होइन, सरकारसँगको पनि अविश्वास हो ।

प्रधानमन्त्री ज्यू, नेताले सपना देख्न पाइन्छ र बाड्न पनि पाइन्छ । तर, सस्तो लोकप्रियताका निमित्त लपाईले बाडेका सपनाहरुले गाउँका हजुरबुवा हजुर आमाहरु सरापीरहेका छन् । तपाईले दोब्बर बनाउने भनेको बृद्ध भत्ता जतिको तति छ ।  उनले सधैं छाती पिटेर रोइरहेका छन् । आजकाल तिम्रो लागि  जिन्दावाद र मूर्दावादको नारा लगाउँदै हिँडेको मेरो गाउँको हर्क छाति पिट्दै रोइरहेको छ । तपाइको कार्यकर्ताले खोली खोलामा पुल निर्माण गरि दिने कुराले तपाईको पार्टीलाई ढुक्क भएर मतदान गरेका थिए । तर, त्यो खोलीखोला तिम्रा कार्यकर्तालागि खाने भाँडो बनेको छ । तल्लो गाउँ देखि साना नानीहरुले करिव एक घण्टाको बाटो हिडेर स्कुल जाने दिन पनि जस्ताकै त्यस्तै छन् ।

म आजकल कति खेर सोच्न बाध्य हुन्छु । किन ? यो मामिलामा सरकार चुकिरहेको छ । सरकारको संवेदनशीलता किन हराएको हो ?  निर्मलाको हत्याकाण्ड किन कता हरायो ? सुन काण्ड के भा को हो ? वाइडवडी रविन्द्र जी संगै गएको हो कि ? अनि एउटा कलाकारले नेता र सरकारको असली चरित्रको पर्दाफाँस गर्दा तपाईका अरिंगालहरुको धम्की आएछ । किन लोकतन्त्रमा कला माथि अंकुष लागेकै हो र ? होइन भने किन सरकार न्याय दिन डगमगाइ रहेको छ ?

समयावधिमा नै काम नसक्ने ठेकेदारलाई कारवाहीको कुराले खुब चर्चा पायो तर त्यसले निरन्तरता पाउन सकेन । तपाईंहरूको निर्णयले जनतालाई सपना देखाएर पछार्नेबाहेक अर्को काम गर्न सकेन । गोविन्द केसीसम्म आइपुग्दा त तपाईंहरू स्वास्थ्य माफियाको पक्षमा खुलेर लाग्न छाड्नु भयो । गोविन्द केसीको पक्षमा बोल्ने मान्छेलाई विरोधी दलको एजेन्ट देख्न थाल्नुभयो । त्यहीँबाट तपाईंहरूको स्खलन सुरु भयो । निर्मला हत्या काण्डसम्म आइपुग्दा त तपाईंहरूलाई पूरै असफल बनाइदियो । असफल हुनुभन्दा विश्वासको मत फिर्ता हुनु मात्र पनि होइन ।

जनताहरू जब निर्मलाको हत्याकाण्डको अपराधीलाई पक्रेर कारबाहीको माग गर्दै सडकमा उत्रे अनि तपाईंले दुई चार थान कार्यकर्ता बटुलेर अरिङ्गलझैँ झम्टिन भन्नुभयो । हामीले ल्याएको गणतन्त्रमा जनतालाई बोल्ने अधिकार छैन भन्ने मलाई लाग्यो । हिजोका राणा शाषकहरुले गर्ने व्यवहार र तपाईंको व्यवहार उस्तै लाग्यो ।

प्रधामन्त्री ज्यु, तपाईको उखान टुक्का मिश्रीत भाषणमा निकै मिठास थियो । तपाईले  बोल्ने बेला त निश्चय पनि यी कामहरु हुन्छन्  जस्तो लाग्थ्यो होला । तर, आज तपाइको पार्टीलाई मतदान गरेका जनता अहिले सुन्न नमिल्ने गरी एकहोरो गाली गरीरहेका छन् ।   मलाई पनि चिन्ता लाग्छ मेरो देशको प्रधानमन्त्रीको कार्य सम्पादन देखेर । हिजो आज सि.के. राउत संग भएको सम्झौंताले पनि निकै चर्चा पाएको छ । नेत्रविक्रम चन्द नेतृत्व पार्टीलाई आतङ्ककारी भन्ने अनी देश द्रोही सि.के. रावत संग हातेमालो गर्ने । कहाँ हरायो प्रधानमन्त्री ज्यू तपाईको राष्ट्रियता ।

प्रधानमन्त्री ज्यू, आजकल फेरी नयाँ अभ्यास सुरु भएको देख्दैछु । तपाईका कार्वन कार्यकर्ताहरु सामाजिक सञ्जालमा यो योजना त्यो योजना भनेर भाइरल गरीरहेका छन् । किन ? प्रधानमन्त्री ज्यू  कार्यकर्ताको हातमा योजना दिएर सम्बृद्धि रोजेको हो र ? यस्तो किसिमको कार्यकर्ता मुखी बजेटले देश समृद्ध हुन सक्दैन् ।  त्यसकारण कार्यसम्पादन शैली परिवर्तन गर । नत्र भने यो देशको गरीबीले सराप्ने छ । किड्नी फेल भएर उपचार गर्न नसकी ज्यान गुमाईरहनेहरुको पीडाले तपाईलाई सरापीरहनेछन् । देशको चौतर्फी विकासको लागि ध्यान केन्द्रीत गर्नुहोस् । अरब र खरबको सुविधाभोगी जीवनलाई गरीबी संग दाजेर हेर । त्यसपछि समृद्धीको सपना कोर सम्माननीय प्रधानमन्त्री ज्यू ।

अहिलेलाई विदा माग्छु । केही बुद्धि फेरियो भने स्याबासीको पत्र लेखुला नत्र भने यतिक्कैमा ओझेल पर्छु ।

लेखक: नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष हुन् 

महेश दत्त भट्ट

मो.नं. ९८६५६३८१९६

Leave a Reply